थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत १४ बैशाख २६४८, शुक्कर ]
[ वि.सं १४ बैशाख २०८१, शुक्रबार ]
[ 26 Apr 2024, Friday ]

सिमा क्षेत्रमा भोकप्यासै अहोरात्र खटिएका छन् सशस्त्र प्रहरी

पहुरा समाचारदाता | २५ बैशाख २०७७, बिहीबार

धनगढी, २५ बैशाख । कोरोना भाइरस (कोभिड १९) महामारीले विश्व नै अक्रान्त बनेको छ । यसमा नेपाल पनि अछुतो रहेन् । कोरोना भाइसर नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत्र ११ गते देखि देशमा लकडाउन गरेको छ । यसका साथै भारतबाट आउने नेपालीबाट नेपालमा संक्रमण फैलिने उच्च जोखिम रहेकोले भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी अस्थायी सुरक्षा बोर्डर पोष्ट खडा गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको खक्रौलादेखि दार्चुलाको तिंकरसम्म सशस्त्र प्रहरीले पोष्ट खडा गरि सशस्त्र प्रहरी अहोरात्र तैनाथ रहेका छन् । कैलालीको १०१ किलोमिटरमा भारतसँगको सीमानामा १२१ प्रहरी पोष्ट रहेका छन् । कैलालीमा कर्णाली पारीको श्रीलंका टापुमा सशस्त्र प्रहरीले डुंगाबाट सीमामा गस्ती गरिरहेको छ । धेरै स्थानमा सशस्त्र प्रहरीले मचान बनाएर निगरानी बढाएको छ ।
यता कैलारी गाउँपालिका अन्र्तगत लठ्ठहुवा घाट, हौसलपुर, मोहनपुर भितरिया, छुट्कीपलिया, बडका पलिया, भुँइयाँफाँटा विओपी र खोनपुर घाटमा अर्धशैनिक बल सिमा सुरक्षा र कोरोना नियन्त्रण तथा रोकथामका लागि भोक प्यासै खटिएका छन् ।

हौसलपुर बोर्डर पोष्टमा ओत लाग्ने समस्या, आँधीले भान्सा समेत उडायो
कैलारी गाउँपालिका अन्र्तगत हौसलपुर घाटमा रहेको सशस्त्र प्रहरी अस्थायी सुरक्षा बोर्डर पोष्ट पालिका अन्र्तगतकै दयनीय पोष्ट रहेको छ । दुर्गम स्थानमा रहेको पोष्टमा यातायात, खानेपानी, विजुली बत्ति र घामपानीबाट बच्नका लागि नै समस्या हुने गरेको जनाएको छ ।
पोष्टका इन्चार्ज सशस्त्र प्रहरी नायव निरिक्षक गणेश कुमार बोहरा बर्षात तथा घामपानीबाट बच्न धेरै समस्या भएको बताए । ‘यहाँ खानेपानी, बिजुली बत्ती लगायत आँधीपानीबाट बच्नका लागि ओत लाग्ने ठाउँ नै छैन’, उनले भने–‘यसका साथै सीमा क्षेत्रमा बाटोघाटो राम्रो नभएकोले डिउटी गर्न पनि समस्या आएको छ ।’
खानेपानीका लागि बोर्डर पोष्ट भन्दा २÷३ किलोमिटर टाढा पुरानो भुँइयाँफाटाँ गाउँ जोकैहियापुर टोलबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको प्रहरी नायव निरिक्षक बोहराले दुखेसो सुनाए ।
आवश्यकमात्रामा विजुली बत्ति त्यसमा पनि बाटोघाटोको राम्रो सुविधा नभएकोले पनि राति डिउटी गर्न धेरै समस्या आउने गरेको पोष्टका सुरक्षाकर्मीहरुको गुनासो रहेको छ । तीन वटा अस्थायी टेन्ट रहेको पोष्टमा १५ जना सुरक्षाकर्मी खटिएका छन् । राती आउने हावाहुरी, आँधीपानीले झन पोष्टका सुरक्षाकर्मी हैरानी व्यहोर्नु परेको प्रहरी नायव निरिक्षक बोहराले बताए । उनले हावाँहुुरी, आँधीपानी आउँदा टेन्ट उडाउने डरले सबै जना टेन्टमा झुण्डिनु पर्ने अवस्था आएको बताए ।
उनले सुरक्षाका लागि खटिएको प्रहरी आफै असुरिक्ष रहेको भन्दै त्रिपाल लगायत विपत् व्यवस्थापनका अन्य सामग्री कही कतैबाट उपलब्ध भए सुरिक्षत पोष्ट निर्माण गर्ने बताए ।
आज बिहीबार विहान आएको हावाहुरी, आँधीपानीले हौसलपुरको पोष्टको भान्सा समेत उडाएको विओपी भुँइयाँफाँटाका इन्चार्ज मोहन भट्टले जानकारी दिए । यस्तै हावाहुरीले खानेपानीको फिल्टर पनि उडाए क्षति पुर्याएको बताए । यस्तै छुट्की पलियामा स्थापना गरिएको अस्थायी पोष्टमा पनि हावाहुरी र आँधीपानीले समस्या निम्त्याएको इन्चार्ज भट्टले जानकारी दिए ।
यता वडा नं. ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी पोष्टका लागि गाउँपालिकाबाट यातायातका लागि एउटा गाडी, विजुली बत्तिका लागि हौसलपुर गाउँको स्थानीयहरु संग समन्वयगरि २ वटा सोलर बत्ति, बस्नका लागि टेबल कुर्सी लगायतका सामाग्री उपलब्ध गराएको बताए ।
साथै उनले अस्थायी सीमा सुरक्षा बोर्डर पोष्ट भवनका लागि गाउँपालिकामा समन्वय गर्ने बताए । साथै अध्यक्ष चौधरीले यसै वर्ष बाटोघाटोमा ग्राभेल, खानेपानीका लागि उच्च नल्का, विद्युत लगायत सबै सुविधा पुर्याउने बताए ।

भारतबाट नेपाल भित्रिन नदिन सीमामा थप कडाई
सरकारले सीमामा कडाई गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । भारतबाट आउने नेपालीबाट नेपालमा संक्रमण फैलिने उच्च जोखिम भएको बताउदै सरकारले सीमामा कडाई गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।
भारतले सीमावर्ती क्षेत्रमा रहेका आफ्ना क्वारेन्टाईनबाट नेपालीहरुलाई निकालिरहेका बेला नेपाल सरकारले सीमामा थप कडाई गर्ने निर्देशन दिएको हो । भारतको हल्द्धानीको क्वारेन्टाईमा रहेका १७ जना नेपालीलाई हिजो त्यहाँको प्रशासनले निकालेको थियो । उनीहरु त्यहाँबाट निकालिएपछि बिचल्लीमा परेका छन् ।
कैलाली र कञ्चनपुरसंगै जोडिएको भारतीय भूभाग पलिया, बनवासा, खटिमा, टनकपुरमा पाँच सय बढि नेपाली झण्डै डेढ महिनादेखि क्वारेन्टाईनमा छन् । उनीहरु नेपाल प्रवेश गर्न दिने सरकारको आदेशको पर्खाईमा छन् ।
स्थानीय प्रशासनले भने तत्काल उनीहरुलाई नेपाल भित्र्याउने अवस्था नरहेको बताएको छ । प्रशासनका अनुसार सरकारले सीमामा कडाई गर्न र भारतबाट नेपालीहरुलाई नेपाल भित्र्याउन नदिन कडा निर्देशन दिएको छ ।
भारतका बिभिन्न भागमा अलपत्र परेका लाखौ नेपाली त्यहाँ भोक भोकै बस्न बाध्य छन् । उनीहरुले आफूहरुको उद्दार गर्न नेपाल सरकारसंग गुहार मागिरहेकै बेला सरकारको यस्तो कडा निर्देशन आएको हो ।

जनाअवजको टिप्पणीहरू