पितृ शोक भुल्न नपाउँदै कोरोनाको डिएनए केलाउँदैछन् सुनिल
लखन चौधरी
धनगढी, १८ वैशाख । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका ४ गोठलापानी घर भएका सुनिल प्रसाद लेखक (३२) यतिबेला दोहोरो जिम्मेवारी ंसंगसंगै निभारहेका छन् ।
डिकोड जेनोमिक एण्ड रिसर्च सेन्टर काठमाडौंका निर्देशक समेत रहेका मोलेकुलर माइक्रो बायोलोजिस्ट लेखकको बुवा धर्मानन्द लेखकको निधनपछि जारी पितृ संस्कार संगै राज्यले दिएको जिम्मेवारी बहन जुटेका हुन् ।
यो रिपार्ट तयार पर्दासम्म उनको बुवा बितेको ४५ दिन पूरा भएको छ । जसले गर्दा मृत्यु संस्कार अनुसार उनी अझैपनि स्वर्गिय बुवाको मासिकी कार्य गर्दै आएका छन् । अर्कोतिर, कोरोनाले कहर मचाइरहेको बेला सरकारले उनलाई आरटी पीसीआर मेसिनसहित सुदूरपश्चिम प्रदेशको धनगढी खटायो । उसैपनि कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिममा विज्ञको हैसियतमा खटिएका उनी कोरोना परिक्षण र प्रशिक्षण कार्यमा खटिएका हुन् । उनकै नेतृत्वमा ५ जनाको टोलीबाट धनगढीमा स्थापना भएको प्रयोगशालामार्फत कोरोना परिक्षण भैरहेको हो ।
‘मेरो बुवा बितेको ४५ दिन भएको छ । हाम्रो संस्कार अनुसार २९ दिनमा, ३० दिनमा, ४५ दिनमा र ६० दिनमा शुरुको मासिकी संस्कारहरु गर्नुपर्ने हुन्छ । २९ दिनमा, ३० दिनमा, ४५ दिनमा मासिकी गरिने संस्कारहरु धनगढीमै बसेर पूरा गरियो’, मोलेकुलर माइक्रो बायोलोजिस्ट लेखक भन्छन्–‘यो अप्ठेरो बेलामा पारिवारिक समस्या त भै नै हाल्छ भनम् तर देश अहिले अप्ठेरो अवस्थामा रहेको बेला हामीले आफ्नो जिम्मेवारीबाट भाग्नु हुन्दैन । सुुरुका दिनमा त राती ९÷१० बजेसम्म पनि काम गरियो । परिवारिक र राष्ट्रले दिएको जिम्मेवारी संगसंगै ।’
परिक्षण र प्रशिक्षण संगसंगै
धनगढीमा कोरोना परिक्षण प्रयोगशाला स्थापना हुनुपूर्व परिक्षणको लागि संकलित नमूनाहरु काठमाडौं नै पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशाला धनगढीमै स्थापनाको पहलपछि दक्ष जनशक्तिको तड्कारो आवश्यकता भयो । फलतः उनी सेती प्रादेशिक अस्पतालका केही प्राविधिकहरुको सहकार्यमा सुरुमा पोर्टेबल आरटी पीसीआर मेसिनसहितको प्रयोगशाला अस्पतालमा जडान गर्न जुटे । त्यो संगै जनशक्ति उत्पादनमा । शुरुका दिनमा प्रशिक्षणमा बितेको बताउँदै उनले हाल ५ जनाको टोली तयार पारेको बताउँछन् । हाल ५ जनाको प्राबिधिक टोली नै पीसीआर मेसिनबाट सुदूरपश्चिममा कोरोनाको परिक्षण तैनाथ छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रोटोकल अनुसार स्वास्थ्यकर्मीहरुले १४ दिन काम गर्नुपर्ने र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तर सो टोली महिनौ दिनसम्म लगातार परिक्षणमै जुटेको हो ।
मोलेकुलर माइक्रोबायोलोजिस्ट लेखक भन्छन्–‘अहिलेसम्म १ टीम तयार भएको छ । अझै थप टीम बनाउन जरुरी छ । १ महिना भैसक्यो हामी लगातार काम गर्दै आएका छौ ।’
प्रयोगशालाले दिनमा औषत ६ वटा मात्रै परिक्षण गर्न थाल्यो । यता कोरोना संक्रमणको दर बढ्न थालेपछि जनदवाबका बाबजुट सरकारले पुनः अर्को तर धेरै संख्यामा परिक्षण गर्न मिल्ने मेसिन पठायो । अन्ततः त्यो मेसिनको जडानदेखि परिक्षणसम्मको जिम्मेवारी लेखकसहितको टोलीकै काँधमा थपियो । हाल सो टोलीले दैनिक २ सय वटा नमूना परिक्षण गर्दै आएको छ ।
मोलेकुुलर डाग्नोसिसबाट पत्ता लाग्छ कोरोना
लण्डनबाट २०१० मा मोलेकुलर माइक्रोबायोलोजीमा मास्टर गरेका उनी कोरोना भाइरसको परिक्षण निकै जटिल र संवेदनशिल रहेको अनुभव सुनाउँछन् । नेपालमा स्रोत साधन पनि सीमित मात्रा रहेको उनको भनाइ छ ।
उनी आफ्नो बिगत कोट्याउँदै भन्छन्–‘नेपालमा अझैपनि पीसीआर गर्ने ठाउँहरु प्रयाप्त छैनन् । केही संस्थाले गरेपनि एकदमै सीमित छ । मेडिकल फिल्डमा डाग्नोस्टिकको लागि पीसीआर गर्ने मान्छे पनि थोरै ।’
रोग परिक्षण प्रक्रियावारे उल्लेख गर्दै उनी भन्छन्–‘संक्रामक रोगको कुरा गर्दा रोग पत्ता लगाउने तरिकामा ¥यापीड टेस्टबाट एन्टीजेन्ट र एन्टीबडी हेर्ने, त्यो इन्फेक्सियस एन्टीजेन्ट भाइरस, ब्याक्टेरियालाई शरीरबाट निकालेर हेर्ने, माइक्रोस्कोपमा हेर्ने, कल्चर गर्ने हुन्छ ।’
तर त्यो भन्दा अलि जटिल र संवेदनशिल मोलेकुर डाग्नोसिस विधि रहेको उनी बताउँछन् । ‘यसमा ब्याक्टेरिया, भाइरसको डिएनए अथवा आरएनए छ कि, छैन भनेर हेर्छौ । कोरोना भाइरसको कुरा गर्ने हो भने, यो पनि मोलेकुलर डाग्नोसिसबाट गरिन्छ । शरीरमा कोरोना लागेको छ भने त्यो कोरोनाको जेनेटिक अवशेष छ कि, छैन भन्नको लागि कोरोनाको आरएनए छ कि, छैन भनेर हामीले हेर्ने हो । यसरी डिएनए अथवा आरएनए पत्ता लगाएर डाग्नोसिस गर्ने प्रविधिलाई मोलेकुलर डाग्नोसिस भनिन्छ’ उनी अगाडी उल्लेख गर्छन् ।
परिक्षणको दायरा साँघुरो
मोलेकुलर माइक्रो बायोलोजिस्ट लेखकले अझैपनि परिक्षणको दायरा फराकिलो नभएको बताउँछन् । उसैपनि डेढ लाखको हाराहारीमा भारतबाट मात्रै सुदूरपश्चिममा आएको भएपनि बैशाख ११ गतेसम्म आरटी पीसीआरबाट २६४४ जनाको मात्रै परिक्षण भएको छ । जुनकारण परिक्षणको दायरा बढाउनुपर्ने उनी औल्याउँछन् ।
उनी भन्छन्–‘डब्लुएचओ ले १ दिनमा १० हजार जनाका परिक्षण गर्नु भन्छ । तर सकेका छैनौ । डब्लुएचओ ले ३ ‘टी’ अर्थात टेस्ट, ट्रेस र ट्रिट लाई अबलम्बन गर्न भनेको छ । यहाँ लकडाउन गरेर मात्रै हुन्दैन, लुकेर बसेकाहरुको व्यापक रुपमा परिक्षण गर्नु प¥र्यो । पाजेटिभ केसलाई टे«स गर्नुप¥र्यो । र उपचार गर्नुप¥र्यो । तर हामीले गर्न सकिरहेका छैनौ ।’
उनी परिक्षणको दायरा फराकिलो नहुनुको २ कारण रहेको बताउँछन् । नेपालमा प्रयाप्त मात्रा रेजेन्ट नहुनु र अहिले विरामीहरु बाहिर आउने भन्दा पनि सरकारले विरामीहरु खोज्न नसक्नु हो । गाउँ–गाउँमा गएर खोज्ने हो । तर पुग्न सकेका छैनौ ।’
धनगढीको प्रयोगशाला कतिको विश्वासनीय ?
एक साताअघि कर्णाली प्रदेशस्थित पश्चिम रुकुमको केही नमूना परिक्षणको लागि धनगढी ल्याइएको थियो । यहाँ गरिएको पीसीआर परिक्षणमा नतिजा पोजेटिभ देखियो । तर केन्द्रीय प्रयोगशाला भने नेगेटिभ देखिएपछि धनगढीको प्रयोगशाला शंकाको घेरामा तानिएको थियो । तर धनगढीको प्रयोगशालाको नेतृत्व गरिरहेका लेखक भने केन्द्रीय प्रयोगशाला जतिकै विश्वासनीय रहेको दाबी गर्दै आएका छन् । उनी स्वाब लिने विधि र स्वाब लिकालिएको समय अवधीले नतिजा फरक आएको बताउँछन् ।
‘सबैभन्दा पहिले नेजल अथवा नाकबाट स्वाब लिनुपर्ने हुन्छ । तर सजिलोको लागि थ्रोट अथवा घाँटीबाट स्वाब लिने क्रम बढी छ । यता ल्याउँदाखेरि नेजल आयो उता (काठमाडौं) पठाउँदाखेरि थ्रोट पठाउँदाखेरि नेगेटिभ आयो कि ? घाँटीबाट निकाल्दा घटेर जान सक्छ । नाकबाटै निकाल्नुपर्छ । अर्कोकुरा, रुकुमबाट काठमाडौं गाडीमा पठाइयो । यसमा निश्चित तापक्रममा राख्नुपर्छ । पोजेटिभ आउनुमा ल्याब र मेसिनको मात्रै हात हुन्दैन । नमूना कसरी संकलन गरियो भन्नेमा ठूलो हात हुन्छ’ धनगढीबाट दिने नतिजा कतिको विश्वासनीय भन्ने जिज्ञासामा भन्छन् ।
त्यस्तै उनी समयको फरकले नतिजामा फरक ल्याउने बताउँछन् । पहिलो नमूना चैत २७ गते र दोस्रो नमूना बैशाख ४ गते निकालिएर ६ गते परिक्षण भएको बताउँछन् ।
अगाडी थपे–‘यहाँ (धनगढी) स्याम्पल आउँदा उहाँहरु दोस्रो हप्ताको संक्रमणमा थिए भने तेस्रो हप्तामा त भाइरस निको भएको अवस्था पनि हुन्छ । जुनकारण नतिजामा फरक हुन सक्छ ।’
त्यस्तै उनले सेती प्रादेशिक अस्पतालमा पहिलैदेखि पोजिटिभ केशका विरामीहरु रहेको र उनीहरुको नमूना पहिलो दिनदेखि परिक्षण गर्दै आएको र हालसम्मको रिपोर्टले क्रमिक रुपमा भाइरसको दर घट्दै गएको देखाइएको बताए ।
‘वैशाख ११ गतेसम्ममा यहाँका ४ जना विरामी डिस्चार्ज भैसके । सुरुसुरुमा संक्रमितहरुको स्ट्रोङ पोजिटिभ आउँथ्यो । जति धेरे भाइरस हुन्छ, त्यति धेरै स्ट्रोङ देखिन्छ । जसलाई सिटी भ्यालु भनिन्छ । यो घट्दैघट्दै हिजोसम्म उहाँहरु नेगेटिभ हुनुभयो । ३ पटक टेस्ट गर्दा तीनै पटक नेगेटिभ आएपछि डिस्चार्ज गरियो । ल्याबमा समस्या भएको भए उहाँहरुको पनि सुरुमा पोजेटिभ र पछि नेगेटिभ आउँदैनथ्यो होला । त्यहीभएर ल्याब अहिले एकदमै राम्रो स्थितिमा छ । केन्द्रीय प्रयोगशालामा जुन प्रविधि र मेनपावरले काम गरिरहेको छ, ठीक त्यसै प्रविधि र मेनपावरले काम गरिरहेको छ, उनी दाबी गर्छन् ।