थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०२ माघ २६४८, बुध ]
[ वि.सं २ माघ २०८१, बुधबार ]
[ 15 Jan 2025, Wednesday ]
‘ मनोसामाजिक परामर्शकर्ताको स्थानीय सरकारलाई ९ बुँदे सुझाव ’

विचलित मनलाई सम्वोधन गरौँ

पहुरा | ४ असार २०७७, बिहीबार

एकाविहानै एक अवोध बालिकाले मलाई स्कुल कहिले खुल्छ अँकल भनेर सोधिन् । म सँग त्यसको सत्य जवाफ थिएन, शिवाय बन्दाबन्दी खुलेपछि । त्यस्तै एकजना क्वारेन्टाइनमा बसेका व्यक्तिले “परिवार कसरी पाल्ने होला । छिमेकी राष्ट्र भारतमा ज्यालामजदुरीको काम पनि छोडेर आउनु परेको छ । जेनतेन त्यहाँको कमाईले परिवारको दैनिकी चलेको थियो । अब त हामी मर्ने भयौँ ”सुनाउनु भयो । अर्काे एकजना एसइइको परीक्षाको तयारीमा रहेकी किशोरीले हाम्रो परीक्षा कहिले हुन्छ भनेर सोधिन त्यसको बारेमा पनि मलाई सत्य जवाफ दिएन आएन । म जवाफ विहिन भएँ । अर्काे एक जना विद्धान अभिभावकले आफ्नो फेसबुकमा स्टाटस लेख्नु भएको थियो “जे परे पर्ला बरु एक बर्ष ढिलो होला म त आफ्नो छोराछोरीलाई स्कुल पठाउँदिन, मलाई आफ्नो छोराछोरीलाई कोरोना संक्रमित बनाउनु छैन ।” यी त भए मैले प्रत्यक्ष सुनेका र देखेका प्रतिनिधीमुलक घटना । यतिको कुरा प्रत्यक्ष अनुभव गरी सकेपछि यो पंक्तिकारलाई आज केही त लेख्नै पर्छ भन्ने अभिप्रायले आफ्नो विचार व्यक्त गर्ने जमर्काे गरेको छु ।
यतिबेला किसानलाई खेतीपातीको चटारो छ । त्यस्तै सरकार, जनप्रतिनिधीहरुलाई क्वारेन्टाईन व्यवस्थापनमा भ्याईनभ्याई छ । स्थानीय सरकारको रुपमा रहेका स्थानीय तहलाई आगामी बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम बनाउने दिन पनि आइसकेका छ । यस्तो अवस्थामा कस्तो खालको नीति तथा कार्यक्रम बनाउने होला भन्ने सरकार तथा जनप्रतिनिधीहरुलाई चिन्ताको विषय बनेको छ होला ।
वर्तमान यस कोरोना भाइरस महामारीको विषम् परिस्थितीमा सरकार, जनप्रतिनिधी, नागरिक समाज, बुद्धिजीवी लगायतले के बुझ्न जरुरी छ भने जति जति बेला विपद्को अवस्था आउँछ, त्यति त्यति बेला मानव प्राणीको मन विचलित हुन्छ । अब के गरु ? सबै सखाप भयो ? कस्तो भाग्य लिएर आएका छौँ ? हाम्रै पालामा हुनु पर्ने लगायतका विषयले सताउने गर्दछ । त्यसले गर्दा मान्छेका मन बेचैनी बनाईदिएको हुन्छ । बेचैनी मनले अनेक खालको समस्याहरु निम्त्याई दिन सक्छन् । अहिलेको बेचैनी बनाउने प्राकृतिक विपद चाँडै सकिनेवाला पनि देखिदैन । अहिलेको वर्तमान परिस्थितीमा सवै क्षेत्रलाई तहसनहस बनाएको छ । मैले माथि उल्लेख गरे जस्तै बालबालिका, युवा, महिला, शिक्षक, अभिभावक, जेष्ठ नागरिक लगायत अन्य क्षेत्रका व्यक्तिमा पनि भिन्ना भिन्नै कुराहरुले मन भयभित भई बेचैनी बनाइ रहेको उदाहरण प्रशस्तै पाउन सकिन्छ ।
यस्तो विषम् परिस्थितीका कारण उत्पन्न बेचैनी मनका कारण अहिले मनोसामाजिक समस्या र मानसिक स्वास्थ्य समस्या पनि बढी रहेको विभिन्न तथ्याँकहरुले देखाई रहेका छन् । पछिल्लो तथ्याँकलाई विश्लेषण गर्ने हो भने मनोबैज्ञानिक समस्या लगायत अन्य कारणले आत्महत्या गर्नेको संख्या उल्लेख मात्रामा बढेको देखिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्याँक अनुसार लकडाउनको अवधिमा १ हजार ३ सय ७१ जनाले आत्महत्या गरेको देखिन्छ । मानसिक रोग विशेषज्ञहरु, मनोविदहरुले पनि कोरोनाले गर्दा मान्छेहरुमा विभिन्न खालको मानसिक स्वास्थ्य समस्याहरु आउने बताउँछन् ।
त्यस्तै कोरोना भाइरस कारण मुलुक बन्दाबन्दीको अवस्थामा हुँदा अहिले बालबालिकाहरुमा स्कुल जान नपाउनुको पीडा छ । किशोरकिशोरीहरुमा आफ्ना भविष्यको चिन्ता छ । अभिभावकहरुलाई आफ्ना सन्तानको भविष्य के हुने हो भन्ने तनाव छ । कृषक, व्यापारी, उद्योगी, युवा आदि लगायतकाले आफ्ना नियमित काम गर्न पाएका छैनन । यस्तो अवस्थामा आर्थिक संकटदेखि लिएर अन्य सामाजिक समस्या निम्त्याउने खतरा छ । तसर्थ यस्तो अवस्थामा स्थानीय निकायले उल्लेखित नीति तथा कार्यक्रम बनाउन सके राम्रो हुने देखिन्छ ।
१) सर्वसाधारण र उच्च जोखिममा रहेका ब्यक्ति तथा समूह जस्तै जेष्ठ नागरिक, धेरै खालका स्वास्थ्य समस्या भएका दीर्घ रोगीहरु, अग्रपङतिमा रहेर सेवा गर्ने ब्यक्ति, बालबालिका, बैदेशिक रोजगारबाट फर्केका ब्यक्ति तथा उनीहरुका परिवारका सदस्यहरु, लैङ्गिक हिंसा प्रभावित ब्यक्तिहरु, अपाङ्गता भएका ब्यक्ति (मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरु सहित) हरुका लागि कोभिड–१९ को कारण उत्पन्न तनाव, डर र त्रास कम गर्न र मानसिक स्वास्थ्यको प्रवर्धनको लागि मानसिक स्वास्थ्य सम्वन्धी सचेतनाको सामग्रीहरु तयार गर्ने र अन्य कार्यक्रम बनाई समुदायस्तरसम्म पु¥याउने ।
२) महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अभियान्ता र मिडिया समेतको सहयोग र सहकार्यमाकोरोनाको संक्रमणबाट निको भएका ब्यक्तिको सफलताको कथा लगायत अन्य सन्दर्भ सामग्रीहरुको प्रयोग गरेर कोभिड–१९ को कारण सृजित कलङ्ग, सामाजिक विभेद आदिलाई कम गर्ने ।
३) स्वास्थ्यका सवै खालका प्रतिकार्य कार्यक्रमहरुमा मानसिक स्वास्थ्य तथा मनोसमाजिक सम्वन्धी प्रतिकार्य कार्यक्रमहरु एकीकृत गर्दै लैजाने । कोभिड–१९ को उपचार हुने अस्पताल वा कोभिड –१९ बाट प्रभावित ब्यक्तिहरुलाई आवश्यक पर्ने मानसिक स्वास्थ्य तथा मनोसमाजिक सहयोग सेवा स्थानीयस्तरको स्वास्थ्य निकायहरुबाट उपलब्ध गराउने ।
४) स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी तथा सामाजिक सेवा प्रदायकहरुलाई कार्यशाला गोष्ठि तथा तालिमको आयोजना गरी तनाव ब्यवस्थापन, स्वः हेरचाहमा ध्यान दिदै उनीहरुको मानसिक सुस्वास्थ्यको प्रवर्धन गर्ने ।
५) कोभिड–१९ को संक्रमण पछिको अवस्थामा स्वास्थ्य संस्थाहरुबाट प्राथमिक स्वास्थ्य सेवासँगै प्रदान गरिने मानसिक स्वास्थ्य सेवालाई सुधार गर्दै लैजाने । यसको लागि मानसिक स्वास्थ्यको क्षेत्रमा स्वास्थ्यकर्मीहरुको तालिम, पुर्नताजगीतालिम आयोजना गर्ने वा तालिम प्रदायक संस्थाहरुमा तालिमको लागि पठाउने । मानसिक विरामीको लागि औषधीको नियमित आपूर्ति गर्ने ।
६) कोभिड–१९ को संक्रमणको कारण विद्यालयमा अध्ययन गर्ने बालबालिका तथा किशोरकिशोरीहरुमा देखा पर्ने डर, त्रास, आघात, निराशापन लगायत अन्य खालको मनोसामाजिक समस्यालाई सम्वोधन गर्नको लागि मनोसामाजिक सहयोगको क्षेत्रमा शिक्षकहरुको क्षमता अभिबृद्दि गर्ने । साथै अभिभावकहरुको लागि यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई कसरी हेरचाह गर्ने भन्ने सम्वन्धमा मनोशिक्षा प्रदान गर्ने ।
७) आत्महत्याको रोकथाम तथा नियन्त्रण गर्ने खालको कार्यक्रम बनाई जनस्तरमा जनचेतना फैलाउने ।
८) विदेशवाट फर्किएका, रोजगारी गुमाएका युवा, कृषक लगायतका लागि स्वदेशमा नै आयआर्जन गरी आत्मनिर्भर हुने खालको कार्यक्रम बनाई लागु गर्ने ।
९) कृषि, उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्रवाट उत्पादित बस्तु तथा सेवा लाई स्थानीय तथा राष्ट्रिय स्तरमा सहज खपटका लागि बजारीकरण क्षेत्र विस्तारका कार्यक्रम बनाई संचालन गर्ने आदि ।
माथि उल्लेखित कुरालाई मध्यनजर गरी आगामी नीति तथा कार्यक्रममा स्थानीय निकायले समावेश गर्न सके केही हदसम्म विचलित मनलाई सम्वोधन हुने देखिन्छ । यतिवेलाको विचलित मनलाई सम्वोधन गर्न सकेनौँ भने समाजमा अझ बढी समस्या निम्त्याउने देखिन्छ । तसर्थ यस तर्फ समयमा नै सजग अग्रसरता बढाउन आवश्यक छ ।

(लेखक चौधरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कैलालीका पूर्वअध्यक्ष तथा हाल मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी.नेपालमा कार्यरत मनोसामाजिक परामर्शकर्ता हुन ।)

जनाअवजको टिप्पणीहरू