थारू आयोगः आयुक्त बेखबर

कृष्णराज सर्वहारी
काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक आयोगमा नियुक्तिको लागि नाम सिफारिस गरेको छ ।
तर सिफारिस गरिएको नाम पुस ५ गते मात्र सार्वजनिक भयो । सोही दिन प्रतिनिधिसभा भंग गरिएको अवस्थामा सिफारिस भएका व्यक्तिहरुको नियुक्ति अन्यौलमा परेको छ ।
यसै क्रममा थारू आयोगमा हालसम्म एक मात्र पदाधिकारी विष्णुप्रसाद चौधरी (बर्दिया) नियुक्त गरिएकोमा बाँकी चार सदस्यको नाम पनि सिफारिस भएपछि थारू आयोगले पूर्णता पाएको झैं देखिएको छ । २०७५ चैत ७ गते अध्यक्ष चौधरीको नियुक्तिको करिब २१ महिनापछि थप सदस्यहरुको नाम सिफारिस भएको हो ।
अहिले सिफारिस गरिएको थारू आयोगको सदस्यमा सुबोधसिंह थारू (बाँके), विकास चौधरी (दाङ), भोलाराम चौधरी (मोरङ) रहेका छन् । महिला सदस्य वविता चौधरीको भने जिल्ला समेत खुल्न सकेको छैन । ती कहाँकी, कुन पृष्ठभूमिकी हुन् आयोगले खोजखबर सुरु गरेको छ, तर पत्ता लगाउन सकेको छैन ।
थारू आयोगका अध्यक्ष विष्ण प्रसाद चौधरी भन्छन्, ‘थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभाका पदाधिकारीहरुमार्फत पनि महिला सदस्य वविता चौधरीको सोधखोज गरियो । तर, उनीबारे केही पत्ता लाग्न सकेको छैन ।’
उता सिफारिस गरिएका विकास चौधरीको उमेर ४५ वर्ष कटेको छैन । जबकि संबैधानिक आयोगका नियुक्तिका लागि ४५ वर्ष पुरा भएको हुनुपर्ने प्रावधान छ । चौधरीले आफ्नो जन्ममिति २०३३ साल बैशाख १७ गते भएको बताए । सिफारिस गरिएको मितिको हिसाबले उनको उमेर ४४ वर्ष ७ महिना १३ दिन मात्र देखिन्छ ।
संसद भंगको अवस्थाले अहिले सिफारिस भएका सबै आयोगका आयुक्तहरुको सुनुवाइमा समस्या खडा भएको छ । तर थारू आयोगमा भने सिफारिस भएका आयुक्तको उमेर नै नपुगेको, आयुक्त नै पत्ता लाग्न नसकेको अवस्था छ ।
