थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत १४ बैशाख २६४८, शुक्कर ]
[ वि.सं १४ बैशाख २०८१, शुक्रबार ]
[ 26 Apr 2024, Friday ]

भर्चुअल थारु रंगकर्म बहस

पहुरा | २१ बैशाख २०७७, आईतवार

काठमाडौं ः प्रत्येक वर्ष प्रायः चैतमा हुँदै आएको थारु साहित्य राष्ट्रिय सम्मेलन यस वर्ष लकडाउनका कारण सम्भव नभएपछि भर्चुअल थारु साहित्य सम्मेलन भएको छ ।

ख्याल ई लिटरेचर फेस्टिभल २०२० नाम दिइएको ३ दिने कार्यक्रम शुक्रबारबाट सुरु भएको हो । बहसमूलक फर्मेटमा प्रस्तुत गरिएको शनिबारको कार्यक्रममा तीन सेसन थियो । भुलभुलैयामा थारु दृष्यचित्र नामक् पहिलो सेसनमा थारु रंगकर्म बहस भयो । सो क्रममा थारु गीतकार, गायकहरुले आधुनिक गीतको बहानामा भोजपुरी, अवधीको कपी गरिरहेको प्रसंग चल्यो ।

निर्देशक प्रनव आकाशले थारुपन बोकेको मौलिक सिनेमा हेर्न नपाएको बताए । उनले अहिले थारु फिल्ममा गुणबत्ता खोज्ने क्रमसंगै सिनेमा कर्ममा रुचि राख्ने समूह नै बढ्नुपर्ने विचार राखे । रंगमञ्चबाट खारिएका थारु कलाकारको अभाव खड्किएको उनको भनाइ थियो ।

थारु म्यूजिक भिडियोका निर्देशक विवश चौधरीले हाल आइरहेका थारु गीतको ट्यूनिङ प्रायः एकै प्रकारको भएकाले कोरियोग्राफीमा अलमल भइरहेको बताए । रकम लगानी गरेर भिडियोमा खेल्ने चाहनाले कलाकारको बाढी आएको तर निखारपन आउन नसकेको उनको भनाइ थियो ।

गायक सुधराम दहितले सानो बजेटमा धेरै चिज देखाउनुपर्ने भएकाले थारु गीतको भिडियो बनाउन गाह्रो भएको बताए । उनले सुरुवाती चरणमा रहेकाले मौलिकपन आउन समय लाग्ने विचार राखे । दहित एउटा भिडियोको कमाइबाट अर्को भिडियो बनाउन सक्ने अवस्था नरहेको जनाउँदै थारु कलाकारको ग्रेडिङको पनि आवश्यकता रहेको जनाए ।

उता बहसकै क्रममा लाइभ प्रतिक्रिया दिदै केही म्यूजिक भिडियोमा काम गरिसकेका कलाकार गंगा डंगौराको भनाइ थियो, ‘थारु म्युजिक भिडियो रहर पूरा गर्नु मात्र हो जस्तो लाग्छ । अरु पेशा नगरी कलाकारिताबाट घरपरिवार चलाउन गाह्रो छ ।’

थारू भाषामा कलम चलाइरहेका गुरुप्रसाद कुमाल गीतका शब्द राम्रा भए पनि थारू म्युजिक भिडियोको छायांकनको क्रममा चित्तबुझ्दो रुपमा नआएको विचार राखे । भुलभुलैयामा थारु दृष्यचित्र कार्यक्रमको सहजीकरण संचारकर्मी इन्द्र चौधरीले गरेका थिए ।

भुलभुलैयामा सामुदायिक भाषा सिकाइ र पुस्तान्तरण विषयक् दोस्रो सेसनमा थारु लगायत मातृभाषाको पाठ्यक्रम लागु सम्बन्धमा रेडियोकर्मी एकराज चौधरी, राना थारुभाषावीद कमलसिंह राना, नेपाल भाषा अभियन्ता दीपक तुलाधर तथा सञ्चारकर्मी कृष्णराज सर्वहारी प्यानलिस्ट थिए । भाषा हराए ज्ञान लोप हुने भएकाले स्थानीय जनप्रतिनिधि लगायत सम्बन्धित समुदायका अगुवाहरुले भाषा जोगाउन पहल गर्नुपर्ने बहस कार्यक्रममा प्रमुख रुपले उठेको थियो । तेस्रो सेसनमा कवि सोम डेमनडौरा, दीर्ग चौधरी लगायतले रचना वाचन गरेका थिए ।

शुक्रबारको पहिलो बहसमा सवाल्टर्नको सामाजिक र सांस्कृतिक पाटो विषयक् कार्यक्रममा लेखकहरु तारालाल श्रेष्ठ, युग पाठक र सुशील चौधरीसंग सहजकर्ता प्रणव आकाशले छलफल गरेका थिए । आफ्नो समुदायको भित्री पाटो खोतल्न उही समुदायको लेखक अघि सर्नुपर्ने आवाज बहसमा उठेको थियो । मजदुर कोषको खम्बा शीर्षकको दोस्रो सेसनमा अधिकारर्मी दिलबहादुर चौधरी तथा अधिवक्ता रामशरण चौधरीसंग संचारकर्मी मदन चौधरीले बहस गरेका थिए । लकडाउनमा सबैभन्दा पीडित मजदुर भएको तथा कमैया मुक्तिको घोषणा भए पनि उनीहरुको पुर्नस्थापना हुन नसकेको बहस उठेको थियो ।

अन्तिमको कविता सेसनमा भूमिका चौधरी, अंकर अन्जान, गुरुप्रसाद कुमाल बुलबुल, सोम डेमनडौरा, अर्नव चौधरी लगायत कविहरुले थारु तथा नेपाली भाषामा कविता वाचन गरेका थिए ।
आइतबार ओझेलमा थारु लोकलय र परम्परागत व्यवस्थाहरु तथा थारु सौन्दर्यशास्त्र दुइ विषयमा बहस गरिने कार्यक्रमका संयोजक तथा आयोजकः ख्याल बगालका अध्यक्ष प्रनव आकाशले बताए । कार्यक्रममा जंग्रार साहित्यिक बखेरी, ठुम्रार साहित्यिक बखेरि तथा लावा डगर त्रैमासिकको सहकार्य रहेको छ । (अन्नपूर्ण पोष्टबाट)

जनाअवजको टिप्पणीहरू