कोरोना परिक्षण किटको अभाव, परिक्षण कार्य प्रभावित
धनगढी, २५ वैशाख । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड १९) परिक्षण किटको चरम अभाव सिर्जना भएको छ ।
सरकारले समयमै आपूर्ति गर्न नसक्दा चरम अभाव सिर्जना भएको हो । पीसीआर किट संगै आरडीटीको समेत अभाव भएको छ ।
किटको अभाव भएपछि नत सेती प्रादेशिक अस्पताल धनगढीबाट निको भएर घर फर्केका विरामीहरुको पुनः परिक्षण गर्न सकिएको छ, नत क्वारेन्टाइनमा राखिएकाहरुको । जुनकारण जोखिम उत्तिकै बढेको हो । सेती प्रादेशिक अस्पतालमा रहेका ५ जना कोरोनाका विरामी मध्ये हालसम्म ४ जना उपचारपछि घर फर्केका छन् ।

संक्रमितहरुको लगातार २ पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि १ हप्तासम्म होम क्वारेन्टाईनमा वस्नुपर्ने र ७ देखि १० दिनको अवधीमा पुनः परीक्षण गर्नुपर्ने मापदण्ड भएपनि पुनः परिक्षण हुन नसकेको हो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सुदूरपश्चिममा मात्रै नभई देशभर किटको अभाव भएको बताए । आपूर्तिको लागि पहल जारी रहेको बताउँदै उनले केही दिनमै आपूर्ति सहज हुने उनको भनाइ छ ।
नेपालमा आरडीटीबाट प्रराम्भिक परिक्षण गरिन्दै आइएको छ । भने कोरोना भए÷नभएको यकिन गर्न पीसीआर मेसिनबाट परिक्षण हुँदै आएको हो ।
मोलेकुलर माइक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर अन्तरगत पीसीआर किट र आर एन ए एक्पेक्सन किट प्रयोग हुँदै आएको छ । पीसीआर किटको उपलब्धता भएपनि एक्पेक्सन किटको अभाव भएपछि परिक्षण कार्य प्रभावित भएको बताइएको छ ।
परिक्षण कार्य प्रभावित भएपछि कोरोनाको आंशकामा आइसोलेसन र क्वारेन्टाइनमा राखिएकाहरु अप्ठेरोमा परेका हुन् ।
कैलालीको लम्की चुहा नगरपालिका ७ का वडा अध्यक्ष हरिराम चौधरीले कोरोनाको उपचारपछि घर फर्केको तर उनी बसेको क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिहरुको परिक्षण नहुँदा जोखिम बढेको बताए । सो नगरपालिकाको वडा नं. ७ र ९ को लागि सरस्वती मावि प्रतापुरको क्वारेन्टाइनमा हालसम्म १ सय बढीलाई राखिएको थियो । तर अझैसम्म २३ जनाको १५ दिन बितेपनि कुनैपनि परिक्षण हुन नसक्दा नत उनीहरुलाई घर पठाउन सकिएको नत कुनै उपचार दिन सकेको वडा अध्यक्ष चौधरीले दुखेसो सुनाए ।
