पीडादायी स्मृतिहरु…
इन्दु थारु
मेरा स्मृतिहरुबाट भाग्न म आफूलाई बलजफ्ती व्यस्त राख्ने असफल प्रयास गरिरहन्थे । त्यसबेला मेरा एक साथीले भनेका थिए ‘जब तपाई आफैंलाई ब्यस्त राख्नुहुन्छ, तपाई आफ्नो भावनाको नजिक हुनुहुन्न, तर तपाईको जीवनमा ती स्मरणहरुले निम्त्याउने तनावलाई रोक्न तपाई तिनको नजिक हुन जरुरी छ । आफ्ना भावनाहरुलाई दब्न नदिनुहोस्, तिनीहरुलाई जिउन दिनुस ।’ हाम्रो स्मृतिको महत्व कति धेरै छ भन्ने कुरा सिलासा जीले भनेपछि म उहाँको कुरामा असहमत हुन सकिन । साच्चैनै पहिलो व्यक्ति कथा महत्वपूर्ण रहेको उहाँका कुरा विश्वस्त पार्ने खालका थिए ।
जनयुद्धको हाम्रो अनुभुति अत्यन्तै त्रासदीले भरिएको, पीडादायी र ह्दयविदारक छ । आज पनि ती भोगाइहरुका बारेमा कुरा गर्न मलाई सहज महसुस हुदैन । युद्धका बेला मैले मेरो तीन जना अभिभावक गुमाए । बाबा र अंकल माओवादी बन्नुभयो । छोराहरुलाई माओवादी बनाइस भन्दै हजुरबुवा र हजुरआमालाई यातना दिन्थे प्रहरी र सेनाले । रातदिन सेना पुलिसले घर घेरिएको हुन्थ्यो । उनीहरु सधैं गोली ठोकदिन्छु भन्थे, अनि पुरा परिवार बलमे उडाइदिन्छु भन्थे ।
यी भोगाइबारे कुरा गर्न मलाई कहिल्यै सहज लागेन । जीन्दगीले हामीसंग कति धेरै अन्याय गरेको रहेछ भन्ने आज पनि लागिरहन्छ । जब पनि यी भोगाई सम्झिन्छु, मेरा आखाँहरु रसाउँछन् । त्यसैले यी भयावह स्मरणबाट म सकेसम्म भाग्न चाहन्छु कतै । त्यसैपनि त्रासदीपूर्ण विगत सम्झेर हुने पो के नै हो र ? पीडा बाहेक, यस्तै लागेर ।
साहास चाहिन्छ, एक गजबको साहास । स्मृतिलाई स्मरण गर्न साच्चै साहास
चाहिन्छ । क्षतविक्षत भएका मेरा साहासहरु बटुल्ने प्रयास एक पटक पुन मैले गरे ।
मेरो स्मृतिमा आमा भन्नुहुन्छ— राती–राती पुलिस आउथे । बहुत डर लाग्थ्यो । काप्थे । भोक निन्द्र सबै हराउँथ्यो । कहाँ भागौ, कहाँ लुकौ हुन्थ्यो । श्रीमान् कहाँ छ भन्थे उनीहरुले । मलाई नेपाली बोल्न आउदैनथ्यो । घर खोजतलाश गर्थे । छातीमा बन्दुक ल्याएर तर्साउथे । मलाई माओवादी भनेको थाहा थिएन, पुलिस आउन थालेपछि मात्र थाहा पाएको हुँ । बच्चाहरुलाई कसरी खुवाउने, कसरी पढाउने सोचिरहन्थे ।
म पढ्ने स्कूलमा गएर ‘माओवादीकी छोरीलाई किन पढाएको’ भन्दै तर्साउथे उनीहरुले । कक्षा १० सम्म पढ्न मैले ७ वटा विद्यालयहरु फेर्न प¥र्यो । त्यसैगरी कहिले आफन्तकोमा त कहिले भाडामा बस्दै सेल्टर फेरिरहनु पथ्र्यो ।
तेरो छोराहरु मारेर जंगलको तालमा फालिसक्यौ, ढकिया बनाउछस् ? रो बुढी भन्दै रुन लगाउथे पुलिसहरुले हजुरआमालाई । अन्न राख्ने डेहरी कुठ्ली अनि कपडा राख्ने भौका सबै खोजतलाश गर्थे बन्दुक कहाँ छ भन्दै । पुरा गाउँनै त्रासमा थियो, छिमेकीहरु गोटियारहरु हाम्रो घर आउन छाडेका थिए । किनभने घर सधैं सरकारी बन्धुकधारीहरुले घेरिएको हुन्थ्यो ।
हजुरआमा भन्नुहुन्छ पुलिसहरु ‘गोचाली परिवार’ (थारुहरुको एक संस्था) को किताब कहाँ छ भनेर सोध्थे । ‘मै पह्रे लिखे नाइ जन्ठु’ भनेर हजुरआमा जवाफ दिनुहुन्थ्यो । घरमा मुक्तिक डगर किताब भेटेपछि हजुरबुवालाई बहुत कुटे । मेरो सानो भाइलाई समेत छोडेनन् । म पढ्ने स्कूलमा गएर ‘माओवादीकी छोरीलाई किन पढाएको’ भन्दै तर्साउथे उनीहरुले । कक्षा १० सम्म पढ्न मैले ७ वटा विद्यालयहरु फेर्न प¥र्यो । त्यसैगरी कहिले आफन्तकोमा त कहिले भाडामा बस्दै सेल्टर फेरिरहनु पथ्र्यो ।
एक रात हजुरबुवालाई गिरफ्तार गरी लगे र असाध्यै यातना दिए उनीहरुले । हजुरबुवाको राम्रो उपचार हुन सकेन अनि हामीलाई छोडेर जानुभयो । हजुरबुवाको मृत्यु हुँदा घरमा आफन्त कम, सेन ापुलिसको आउजाउ धेरै थियो । बाबा र अंकल घर आउन सक्नु भएन । तर बाबाले चिठी पठाउनुभयो हजुरआमाको नाममा ।
डाई टु रोउ मने आँश ना गिराउ
आँश गिराके दुश्मनहे खुशी ना बनाउ…।’
हजुरबुवाको मृत्यु भएको २ वर्ष नपुग्दै बाबाले सहादत प्राप्त गरेको खबर आयो । त्यसको वर्षदिन नपुग्दै अंकलको खबर । हामीले बाबा र अंकलको मृत शरीर भने देख्न पाएनौ । सबै पुरुष अभिभावक गुमाएपछि घरमा महिला र केटाकेटी मात्रै बाँकी भयौं । घरमा ३ जना एकल महिला (विधवा) देखे । एकल महिलालाई आफ्नै लागि बाँच्न र छोराछोरी हुर्काउन कति गाह्रो हुन्छ ?
देशले नयाँ संविधान पायो, गणतन्त्र आयो तर हामीले के पायौ या हामी जस्ता आममानिसले के पाए ? हजुरआमाले सुनाउँनुहुन्छ, ‘घरमा सबैथोक छ छोरा, किन माओवादीमा गएको, छोडिदेउ माओवादी भनि छोराहरुलाई सम्झाएको । बाबा र अंकलको जवाफ हुन्थ्यो — हामी जनताका लागि लड्दै छौ आमा, जनता गरिब छन् । रातदिन काम गरेर पनि खान पाउदैनन् । जमिनदारले दिएको एउटा रोटी पूरा परिवारले बाँडेर खान्छन् ।
हजुरआमा गहभरि आँशु पारेर रुन्चे आवाजमा भन्नुहुन्छ, ‘आज हाम्रो हालत त्यस्तै भएको छ । अब हामीलाई रोटी कसले खुवाउने ?
हजुरआमाको आवाजले म मा उथलपुथल पैदा गर्छ । अनि म सोच्छु हाम्रो बाबा, अंकल जस्तै कैयौंको रगतले लटपटिएको गणतन्त्र नेपाल यति नाजुक कसरी भयो कि एक रोटी पनि आममानिसको पहुँचमा नहोस् ।
एक मौन मेमोरीभित्र हामी गुम्सिएका छौ । हामी परिवारभित्र पनि आफू आफू माझमा कुरा गर्दैनौ विगतबारे । त्यो विगत सम्झेर हामी फेरी रुन चाहदैनथ्यौ सायद, चाहे भित्रभित्रै त्यसले हामीलाई खाइरहेको होस् वा हामी भित्र त्यसले आगो दन्काइरहेको होस् । परिवारभित्र सम्भव भएजतिको विगतको फोटो, लुगा, वस्तु र कथाहरुको संरक्षण अनि याद गर्ने काम, यतिमा हाम्रो मौनता सीमित थियो । युद्धको बारेमा कुरा नगर्नु सजिलो थियो हाम्रा लागि । के मौनता पछाडीको एक कारण आफूलाई अरु सामु दुखेको नदेखाउनु थियोे ? तथाकथित शान्त समाजमा के हाम्रो व्यवहारिक मार्ग मौनता थियो ?
युद्ध सफल भयो, त्यसको मापन गणतन्त्र, धर्म निरपेक्ष र संघीय नेपालले गर्छ भन्ने राज्य संचालकहरुको प्रायोजित हौवा पिटाइले के हामीलाई मौन बस्न प्रभाव छोडेको थिएन ?
युद्धले छोडेका मनोवैज्ञानिक चोट संगालेर फेरी युद्धले हामीलाई मौन छोड्यो । सायद अर्को महत्वपूर्ण कुरा यो हो कि हामीलाई लाग्थ्यो, हामीले भनेको कुरा कसैले सुन्ने छैन । मुक्ति या मृत्युको कसम खाएर युद्ध मोर्चाका मेरा बाबा र अंकलका सहयात्रीले पनि । हजुरआमा भन्नुहुन्छ— हिजो युद्धका बेला क्रान्तिकारीहरु हिडेर पहाड पुग्थे, हिडेर तराई पुग्थे र पनि हालखबर लिइरहन्थे । अहिले कसैले सोध्दैन । सरकारमा गएपछि बिजी भएर होला ।
हाम्रो मेमोरी मौन थियो, यसको मतलब त्यसको उपस्थिति नै थिएन भन्ने होइन । हाम्रो मेमोरी असध्यै आम थिए, त्यसैले छलफल र बहसको विषय बन्न÷बनाउन बर्जित थिए । तर दिल दिमागमा राज गरिरहने विषयको वर्जित स्थिति लामो समयसम्म कहाँ टिक्थ्यो होला । हो, हाम्रो स्मृति अनाधिकारिक र अलोकप्रियताको स्तरमा पर्दछन् अझै पनि । अनाधिकारिक यस अर्थमा कि हाम्रा स्मृतिहरु जति मौन रहन्छन्, सत्ता सञ्चालकहरुलाई सत्ताको आयु टिकाइरहन उतिनै फाइदाजनक रहने भयो । अलोकप्रिय किनभने विजय प्राप्त गर्नेहरु, खासगरि राजा महाराजाहरुको स्मृति पो त लोकप्रिय ।
बरु हाम्रा स्मृतिहरु मेटाउन शासकहरुले दम लगाएर प्रयास गरे । जनयुद्ध घोषणा पूर्व कैयौको घरमा भेटिने मेरो बाबाले प्रकाशन गर्नुहुने म्यागेजिन मुक्तिक डगर र अंकलले प्रकाशन गर्ने म्यागेजिन ट्रासन अहिले भेटिदैन । मेरो बाबाले प्रकाशन गर्नुभएको गजल संग्रह ‘चोराइल मन’, मैले पढेको हो, तर जोगाउन सकिएन भन्नेहरु थुप्रै हुनुहुन्छ । मुक्तिक डगरको पहिलो प्रकाशन वि.स. २०४९ मा मेरो बाबाको सम्पादकत्वमा भयो, र उहाँ बाँचुन्जेल ९ वर्षमा ७ अंक प्रकाशित गर्नुभयो । संकटकालको भयावह स्थितिमा ती सबै किताबहरु लुकाउने, लुकाउन पनि नसक्ने स्थिति भएपछि माटोमुनी गाड्ने वा जलाउने काम भयो । हामीसंग भएका सबै किताब, बाबा र अंकलका सबै फोटोहरु हजुरआमा र आमाले गाड्नु भयो । यी किताबका कथाहरु अनि यी किताब माथि भएका ज्यादतीहरु, आज र पछि पनि मिथक लाग्नेछन् । किनभने तथ्य नष्ट गर्न शक्तिशाली राज्य नै लागि परेको थियो । आजका राज्यसंचालक पनि कदापी चाहदैनन् कि तथ्यहरु प्रमाणित हुन सकुन् ।
ती नष्ट गरिएका शब्द र छविहरुमा हाम्रो विगत लुकेको छ । मेरो बाबा र अंकलको चिन्तन र मूल्य मान्यताहरु झल्किन्थ्यो त्यहाँ । उति बेलाको समाजका प्रतीक थिए ती पुस्तकहरु । के इतिहासको दृश्य केवल चित्र र भौतिक वस्तुको पहिचानबाट मात्रै आउने हो ?
हिजोसम्म मैले जति लेखे र बोले, ती सबैमा म आफ्नो स्मृतिबाट भाग्न खोज्थे । मलाई यो बुझ्न समयको लामो कालखण्ड पार गर्नपथ्र्यो कि जब एक मानिसले आफ्नो स्मृति गुमाउछ, उसले सबै कुरा गुमाउछ । उसको आफ्नो व्यक्तित्व र चरित्र हराउँछ । मेरो जीवनमा भोगेको एक अर्कोे ह्दयविदारक दुर्दशा यो पनि हो कि म मेरो स्मृतिबाट छुटकारा खोज्थे ।
अनुभवमार्फत बाँचिरहेका आम मानिसले यस बारेमा पर्याप्त कुरा गर्न सक्दछन् भन्ने समेत हेक्का थिएन मलाई । मलाई ज्ञात थिएन कि मेरो बाबा र अंकल जस्तै कैयौं अज्ञात योद्धाहरुको रगतको रंगले रंगिएर सत्ता सञ्चालकहरु टल्किदा रहेछन् ।
कैयौ जीवनहरु ध्वस्त पारेर निर्माण गरेका साम्राज्य संचालकहरु बुझ्दछन् कि आम मानिसको स्मृतिले बडेबडे साम्राज्य झार्न सक्दछन् । आम मानिसको स्मृतिले प्रश्नहरु खडा गर्दछन् र मुर्दा शान्तिमा खलल पुगाउँदछन् । मेरो मनमा पनि प्रश्न उब्जिरहन्छन् यदि भगवान हुन्थे भने हामी माथि यति साह्रो अन्याय किन भयो ? यदि प्रभु छन् भने, युद्धको क्रुरता कसरी सम्भव हुन्छ ? युद्धका सबै पक्षका नाइकेहरु कागजमा शान्ति सम्झौता गर्दै कसरी मिलिजुली खतरनाक साम्राज्य निर्माण गर्दछन् ? युद्ध अपराधीहरुको पहिचान गर्न राज्य किन मौनता प्रदर्शन गर्छ ? अनि तिनको बचाउ गर्न राजनीतिक सम्भ्रान्तहरु कसरी गैर वैधानिक तरिका लागू गर्छन् ? मेरो स्मृति गुमाइसकोको हुन्थे त यी प्रश्न कसरी खडा हुन्थे । यस्ता प्रश्नको निरन्तर प्रवाहले साम्राज्यहरु बर्बाद हुदा हुन् । त्यसकारण प्रायोजित रुपमै हाम्रा स्मृति मौन बनाइन्छन् । बस चल्ने भए त यिनले हाम्रा मौनतालाई पनि चुप लगाउँदा हुन् ।
आखिरमा हाम्रो स्मृति बुन्ने त्यो साहास मैले गरे । मेरो आमा र हजुरआमाको अनुभुतिहरुको मौखिक वर्णनलाई म शब्दहरुको माध्यमबाट उल्लेखनीय रुपमा उपस्थिति जनाउन सक्दिन । मेरो शब्दहरुमा भन्दा उहाँहरुले बोलेको तथ्यले अझै वास्तविकता दर्शाउछ । मनभित्र दबाएर राखिएका स्मृति झन्डै हराइसकेका थिए । विगतलाई उपेक्षा गर्दा तत्काललाई दैनिक जीवनको सतहमा प्रभाव परेको नदेखिएला, तर यसले भविष्यलाई पर्याप्त मात्रामा असर पार्न सक्छ । यो कुरामा विश्वास नगर्नु अन्धविश्वास जतिको विषाक्तता छ ।
अहिलेसम्म हामीलाई इतिहासको नाममा मिथ्या झुट अंगाल्न लगाइयो । इतिहास छनौट गरिएको हुन्छ भन्ने ज्ञान थिएन । तर हामी आम मानिसले बिर्सन हुदैन कि आम मानिसहरुको अनुपस्थितिमा संसारको कुनै इतिहासको निर्माण सम्भव छैन ।
आजसम्म म रनभुल्लमा परे÷पारियो । मलाई किन भनियो, विगतमा जे भयो बिर्सेर अगाडी बढ । किन मलाई भनिएन, स्मृति भविष्यवाणी हो । यसले भविष्यलाई हेर्ने लामो दुरी प्रदान गर्दछ । जति परसम्म भूतलाई हेर्नसक्यो, त्यतिनै टाढासम्म भविष्य हेर्न सकिन्छ । किन भनिएन मेरो अनुभुति, मेरो स्मृति, आम मानिसको अनुभुतिको गहन महत्व बोकेको गवाही हो । किन भनिएन, हामी जीवित इतिहासहरु हौ ।
युद्ध सफल भयो, त्यसको मापन गणतन्त्र, धर्म निरपेक्ष र संघीय नेपालले गर्छ भन्ने राज्य संचालकहरुको प्रायोजित हौवा पिटाइले के हामीलाई मौन बस्न प्रभाव छोडेको थिएन ?
हामी आम मानिसका अनुभुति कति नगण्य छ तर गम्भिर छ । यि गम्भिर ऐतिहासिकताको उपेक्षाले जनयुद्धको अनुभवको महत्वपूर्ण अंशलाई वेवास्ता गर्दछ । घटनाको वास्तविकता जान्ने जिज्ञासा प्रत्येकलाई हुन्छ तर धेरैजसो अवस्थामा घटनाको वास्तविकता पत्ता लगाउनु वा जान्न पाउनु हाम्रो पहुंचमा हुदैन । यति मात्र होइन, हाम्रा स्मृतिनै धरापमा छन् । विगतका दैनिक जीवन र त्यसबेला प्रयोग हुने साधारण तर महत्वपूर्ण प्रतीकहरु र त्यही पृष्ठभूमिमा हामी अडिएका छौ ।
विगतलाई बिर्सिदेउ भन्नेहरु भनिदिनुस् हामीले हाम्रो प्रियजनलाई सम्झिने सीमा कहाँसम्म हो ? यस्तो भन्नेहरु मलाई, अपराधी संरक्षण गर्ने राजनीतिक सम्भ्रान्तहरुका घोषित वा अघोषित एजेन्ट लाग्छन् ।
महान सपना बोकेर मोर्चामा खटिएका व्यक्तिहरु सामाजिक मान्यताको अभावबाट ग्रस्त छन् । एक मौन स्मृतिको दृढताले बारम्बार भन्छ, कही कतै पक्कै लेखिनेछ इतिहास, त्यो इतिहास जब एक आम मानिसले भन्नेछ, त्यो इतिहास हाम्रो हो ।