थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०३ सावन २६४८, बिफे ]
[ वि.सं ३ श्रावण २०८१, बिहीबार ]
[ 18 Jul 2024, Thursday ]

रासायनिक विषादीको असर, सुरक्षित प्रयोग र न्युनिकरण गर्ने उपायहरु

पहुरा | २४ असार २०८०, आईतवार
रासायनिक विषादीको असर, सुरक्षित प्रयोग र न्युनिकरण गर्ने उपायहरु

कुनै पनि शत्रु कीरा (कीटनाशक), रोग (ढुसी नासक, ब्याक्टेरीया नासक), झारपात (झारपात नासक, हर्बिसाइड) तथा अन्य जीव जस्ले हाम्रो खाद्यान्न, बोटबिरुवाहरुको वृद्धि विकास तथा उत्पादन, भण्डारण समय र गुणस्तरमा ह्रास ल्याउँदछन् र तिनीहरुको असर न्यूनीकरण तथा रोकथामको लागि प्रयोग गरिने रसायन युक्त विषादीलाई रासायनिक विषादी भनिन्छ ।

रासायनिक विषादीको वातावरणमा असरहरु

  • अलक्षति लाभदायक जीवहरु (माछा, भ्यागुता, छेपारा, चरा, शिकारी तथा परजीवी कीरा, सुक्ष्म जीवहरु आदि) मा प्रतिकूल प्रभाव
  • घरपालुवा एवं जंगली जनावरमा प्रतिकूल प्रभाव
  • माटो, जल र वायु प्रदुषण तथा प्रतिकूलन
  • जैविक विविधतामा ह्रास
  • रोग कीराहरुको पुनरुत्थान (Pest Outbreak)
  • शत्रुजीवहरुमा रुपान्तरण (Pest Resurgence)
  • खाना तथा वातावरणमा विषादीको अवशेष (Pesticide residue and persistence)
  • मौसम परिवर्तन, उष्णीकरण तथा ओजोन झिल्लि पातलो हुने (Climate change, global warming and ozone layer depletion)

जीवनाशक विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापन

बाली बिरुवाहरुमा लाग्ने विनासकारी प्राणीहरुमा कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शंकेकीरा, मुसा, चरा, अवान्छित झारहरु तथा रोग लगाउने सुक्ष्म जीवाणुहरु जस्तैः ढुसी, ब्याक्टेरिया, भाइरस, आदि पर्दछन् । यी प्राणीहरुलाई नाश गर्न प्रयोग गरिने रासायनिक वा जैविक पदार्थहरुलाई प्राणी नासक विषादी भन्ने गरिन्छ । बाली बिरुवालाई हानी नोक्सानी पुर्यांउने विनाशकारी प्राणीहरुलाई यथोचित व्यवस्थापन गर्नको लागि विषादीहरु तयार गरिएका हुन् । तर तिनीहरुको प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, अरु मानिस, घरपालुवा पशुहरु, वन्यजन्तुहरु र लाभकारी कीराहरुलाई समेत हानी पुर्यांउनुको साथै वातावरणलाई समेत नोक्सान गर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा विषादी विष हो, औषधि होइन भन्ने तथ्यलाई मनन गर्नुपर्छ । प्राणीनाशक विषादी विष भएकोले तिनीहरुलाई अत्यन्त सावधानीपूर्वक प्रयोग गर्नुपर्छ ।

१. सामान्य सिद्धान्त
क) अनावश्यक रुपमा विषादी प्रयोग नगर्ने ।
ख) सम्भावित खतराबाट सधै सावधान रहने ।
ग) विषादीको चिन्ह (लेबल) र अन्य पर्चाहरु राम्रोसँग पढ्ने ।
घ) विषादीलाई केटाकेटीले नभेटने ठाउँमा राख्ने ।

२. विनासकारी प्राणीनाशक विषादी उपयोग गर्नु अगाडि
क) सकेसम्म सामान्यरुपले खतरनाक र सुरक्षित (प्रति किलोग्राम २००० मिलीग्राम भन्दा माथि एल.डी. ५० भएको) विषादीको प्रयोग गर्नुपर्छ ।
ख) प्राविधिकको सल्लाह लिएर मात्र विषादी किन्नुपर्छ ।
ग) विषादीलाई सुरक्षित ठाँउमा तालाबन्दी गरी राख्नुपर्छ ।
घ) विषादीलाई खाद्य पदार्थदेखि टाढा राख्नुपर्छ ।
ङ) स्प्रेयर र डष्टर राम्रो अवस्थामा हुनुपर्छ ।
च) उपकरणलाई काम गर्नु अगाडि र काम सकिएपछि जाँच गर्नुपर्छ।

३. मिश्रण बनाउदा र छर्दा

क) विषादीको प्रयोग गर्नुभन्दा पहिले डब्बामा दिएको निर्देशन र सावधानीलाई राम्ररी पालना गर्नुपर्छ ।
ख) विषादीले छालामा विष लाग्ने वा पोल्ने भएकोले सुरक्षात्मक पहिरन लगाउनु पर्छ, जस्तैः पूरा बाहुलाको कमीज, लामो पतलुङ्ग वा पाइन्ट, मोजा, जुत्ता वा वूट, चौडा किनारा भएको टोपी, हातमा रासायनिक पदार्थले असर नगर्ने रवरको पन्जा, मास्क, कृत्रिम श्वास उपकरण आदि ।
ग) विषादी प्रयोग गर्दा सहि मात्रामा मिश्रण गरि सहि तरिकाले छर्नुपर्छ ।
घ) विषादी अन्य ठाँउमा नफैलियोस भन्नका लागि विषादीको प्याकेटलाई सावधानी पूर्वक खोल्नुपर्छ ।
ङ) हावाको गति कम भएको बेलामा छर्ने गर्नुपर्दछ, हावाको विपरित दिशातर्फ कदापि छर्नु हुँदैन ।
च) गर्मी ठाउँमा मध्य दिनमा कहिल्यै विषादी छर्नु हुँदैन । छ) विषादी छर्दै अगाडि बढ्नु हुँदैन, पछाडि सर्नुपर्छ ।
ज) विषादी छर्दा नोजल बन्द भएमा मुखले फुक्नु हुँदैन ।
झ) विषादीको प्रयोग गर्दागर्दै कुनै चिज खानु हुँदैन, जस्तैः चुरोट पिउनु वा धुम्रपान गर्नु ।

४. विषादी प्रयोग पछाडि
क) विषादीको प्रयोग गरेका कागजी पदार्थलाई सुरक्षित स्थानमा जलाएर वा गाडेर नष्ट गर्नुपर्छ ।
ख) हातमुख साबुन पानीले राम्ररी धुनुपर्छ ।
ग) प्रयोग गरिएको भाडा कम्तिमा तीनपटक साबुन पानीले सफा गर्नुपर्छ ।
घ) प्रयोग गरेको उपकरण जस्तैः स्प्रेयरलाई राम्ररी सफा गरेर राख्नुपर्छ ।

५. विष लागेका लक्षणहरु र प्राथमिक उपचारः
ओर्गानोफस्फेट र कार्वमेट यौगिकहरु जस्तै मेटासिड, मेटासिस्टक्स, नुभान आदिले कोलिनेष्टेर रोक्दछन्, जसले गर्दा स्नायु प्रणालीमा विकार उत्पन्न हुन जान्छ । टाउको दुख्ने, रिंगटा लाग्ने र वाकवाकी हुने र त्यसपछि जाडो भई पसिना आउने, झाडा लाग्ने र वान्ता हुने लक्षणहरु देखापर्दछन् । मांसपेशीहरु थर्कनु, भिषण कम्पन हुनु र अचेत हुने अवस्थाहरु समेत हुन सक्छ ।

प्राथमिक उपचारः
क) रोगीलाई आधा झुकेको रुपमा टाउको तल पर्ने गरी राख्नुपर्दछ ।
ख) वान्ता गराउने व्यवस्था गर्नुपर्छ ।
ग) राम्ररी हावा आउने व्यवस्था मिलाउनुपर्दछ ।
घ) छिटो अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ ।
ङ) एट्रोफिन सल्फेटको २ मिली ग्राम इन्ट्राभेनस सुई दिनुपर्छ ।

रासायनिक विषादी न्यूनिकरण गर्ने उपायहरु

  • विषादी खानेकुरा, हावा र पानीबाट हाम्रो सम्पर्कमा आउने भएकोले खानेकुराबाट आउने विषादीलाई त्यसको मात्रा कम गर्न देहायका उपायहरु अपनाउनु पर्दछ ।
  • पानीले धुने: तरकारी र फलफूललाई भाँडोमा डुबाएर धुनु भन्दा धारा वा बग्दो पानीमा ब्रसले कुना काप्चामा समेत राम्ररी धोएपछि त्यसमा रहेको सम्पर्क विषादी, पाइराथ्राइड विषादी ७०% कम हुने, ब्याकटेरिया र फोहोर समेत जाने गर्दछ । २५% खाने नुन वा खाने सोडा सफा पानीमा मिसाएर १०–१५ मिनेट डुबाउने वा आधा कप भिनेगर २ कप पानीमा १०–१५ मिनेट डुबाउने वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा करिब ८०% घट्दछ ।
  • बाहिरी पातहरु फाल्ने र बोक्रा ताछ्नेः बन्दा, लेटुस जस्ता तरकारीको बाहिरी पातहरु हटाई राम्ररी धुँदा वा संभव भएका तरकारी र फलपूmलका बोक्रा ताछ्दा त्यसमा रहेको सम्पर्क विषादीहरुको मात्रा ४५–९९% कम हुने, ब्याक्टेरिया र फोहोर समेत पखालिएर जान्छ ।
  • धेरै परिकारहरु खानेः धेरै प्रकारका तरकारी, फलफूल र खानेकुरा खानाले ती खानेकुरामा विषादीको अवशेष औषतमा कम हुन आउँछ ।
  • सुख्खा बनाउनेः ब्रसले सफागरी धोएपछि फलफूल र सलादको रुपमा काँचै खाने तरकारीलाई कुनै सफा कपडा वा कागजको टावलले सुख्खा हुने गरी पुछेर खानुहोस् जस्ले गर्दा व्याक्टेरियाको प्रकोप कम हुन्छ ।
  • पकाएर खानेः बोक्रा ताछ्ने र पकाउँदा अर्गानोफस्फेट विषादीहरुको मात्रा २०–२५% कम हुने गर्दछ । ३० मिनेट उमाल्दा दैहिक विषादी ८०–९०% कम हुने गर्दछ । तरकारीलाई सुख्खा हुने गरी वा बफाएर पकाउँदा विषादीको अवशेष कम भएको पाइएको छ ।
  • फ्रिजमा राख्नेः तरकारी र फलफूललाई फ्रिजमा १० डि.से.मा ३–४ दिन राख्दा विषादीहरुको मात्रा २४–९४% कम हुने गर्दछ ।
  • निर्मलीकरणः दुध वा खानेकुरालाई निश्चित तापक्रममा निर्मलीकरणको लागि तताउँदा र चिसोमा राख्दा धेरैजसो विषादीको अवशेष कम हुने र व्याक्टेरियाको प्रकोप कम हुने गर्दछ ।
  • प्रशोधन गर्नेः दानादार खाद्यन्नको बोक्रा मीलबाट फाल्दा विषादीको अवशेष १७–२८%कम हुने गर्दछ भने पीठो बनाउँदा ६०% कम हुने गर्दछ ।
  • जुस बनाउँदाः स्याउको जुस निकाल्दा बोक्रा फालिने र रसलाई फिल्टर गरिने कारणले फेनिट्रोथियन विषादी ९०% कम हुने गर्दछ ।
  • चिया कफि बनाउँदाः चिया वा कफिको बिरुवामा छरेको विषादी प्रशोधन गर्दा सुख्खा हुने, घुम्ने र विभिन्न चरण पार भै कपमा बनेर आउँदासम्म विषादीको समुह अनुसार ४५-६४% कम हुने गर्दछ । त्यस्तै कफी प्रशोधन भै विभिन्न चरण पार गरी कपमा बनेर आउँदासम्म डाइक्लोरभस विषादी ८२–८८% कम हुने गर्दछ।
  • अमिल्याउनेः फलफूलको रक्सी बनाउँदा अर्गानोफस्फेट विषादीको अवशेष ८३% कम हुने गर्दछ भने बन्दाको किम्ची बनाउँदा ८६% कम हुने गर्दछ।
  • शुक्ष्म जीवाणुको प्रकोप कम गर्नेः धेरै प्रकारका तरकारी र फलफुल माटोमा लगाउने र माटो, पानी, मलको सम्पर्कबाट साथै भण्डारण गर्दा वा खाद्य चक्रको कुनै पनि तहमा ती शुक्ष्म जीवाणुको प्रवेश हुन सक्ने भएकोले तिनको स्वभाव हेरी अक्सिजनको मात्रा घटाउने, पकाउने, अल्ट्रा भ्वाइलेट लाइट दिने वा अन्य उपाय अपनाउनु पर्दछ ।

निष्कर्षः
कृषि बाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न संभव भएसम्म रासायनिक विषादीको बिकल्प खोज्ने, आवश्यक पर्ने नै भएमा सुरक्षित र प्रभावकारी विषादी सावधानीपूर्वक छर्ने, पर्खने अवधि पछि मात्र टिप्ने, विषादीको सम्पर्कमा हुने विभिन्न व्यवसायमा संलग्न व्यक्तिले विषादी शरिरभित्र नपस्ने पहिरन लगाउने, घर र भान्सामा आएको फलफूल र तरकारीलाई माथि भनिएका विषादीको अवशेष कम गराउने उपायहरु अपनाउने सकिएमा मानिस र पशुपन्छीको स्वास्थ्यमा विषादीबाट हुने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न सकिन्छ ।

कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग कम गर्न आगामी दिनमा चाल्नुपर्ने कदमहरुः

अल्पकालीन तथा तुरुन्तै कार्यान्वयन गर्नुपर्नेः

– विषादी बेचबिखन अनुमति पाउनका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण गर्ने तथा हाल संचालनमा रहेका विषादी विक्रेताको क्षमता विकासमा जोड दिने ।

– आयातित सबै विषादीहरुको लेवल (सूचकपत्र) कम्तिमा नेपाली भाषामा नै र प्रष्टसँग पढ्न सकिने गरी व्यवस्था गर्ने ।

– म्याद नाघेका, प्रतिबन्धित, मिसावट गरिएका र निम्न स्तरका विषादीहरुको बेचबिखन तथा प्रयोगलाई नियमन गर्न विज्ञ तथा प्रयोगशालाको तुरुन्त व्यवस्था गरी परिचालन गर्ने ।

– बढी संख्यामा विषादीहरु पञ्जीकृत गरिनुले पनि विषादी आयात तथा प्रयोगमा वृद्धि भएकोले सो संख्या सीमा तोकी अन्यलाई अपञ्जीकरण (Deregistration) गर्ने ।

– विषादी छर्कने काम तालिम तथा इजाजत प्राप्त व्यक्तिले मात्र गर्न गराउन पाउने व्यवस्था गर्ने ।

– जैविक मल एवं विषादीमा सरकारी अनुदानको व्यवस्था गरेर कृषकहरुलाई सोतर्फ आकर्षित गर्ने ।

– विषादीले स्वास्थ्य तथा वातावरणमा पार्ने नकारात्मक असर बारेमा उपभोक्ताहरुलाई सुसूचित गर्ने ।

– कृषकको परम्परागत ज्ञान तथा स्थानीय श्रोतसाधन प्रयोग गरी बाली संरक्षण गर्ने तौर–तरिका बारेमा अध्ययन, अनुसन्धान एवं प्रचार प्रसारमा जोड दिने ।

– मध्यस्थकर्ता तरकारी व्यापारीले ढुवानीका क्रममा रोग कीराबाट हुने हानी कम गर्न पनि विषादीको प्रयोग गर्न सक्ने हुँदा अनुगमन तथा निरीक्षण गरी कडा कारवाहीको व्यवस्था गर्ने ।

दीर्घकालीन तथा नीतिगत रुपमा गर्न सकिनेः

-नेपालको बाली संरक्षण दीर्घकालीन रणनीति निर्माण गर्ने र त्यसकै आधारमा ऐन, नियम तथा नियमावलीहरुको संशोधन गरी समय सापेक्ष बनाउने ।

– जैविक तथा वनस्पतिक विषादी तथा मलहरुमा यथेष्ट सरकारी अनुदान दिने व्यवस्था गर्ने ।

– निश्चित संख्यामा अत्यावश्यक रहेका सुरक्षित जैविक तथा प्रांगारिक विषादीहरु मात्र पञ्जिकृत गर्ने तथा गराउने ।

– रासायनिक विषादीहरुको अवशेषका कारण उपभोक्ता तथा पर्यावरणमा पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असर बारेमा आवधिक योजना निर्माण गरी अध्ययन, अनुसन्धान, पैरवी, जन चेतना तथा जागरण अभियानहरु संचालन गर्ने ।

– विश्वव्यापी रुपमा गरिएका प्रांगारिक तथा विषादी रहित खेतीका प्रयासहरुको अवलम्बन, सो को अध्ययन, अनुसन्धान गर्ने गराउने ।

– छिमेकी मुलुक भारतको सिक्किम राज्यले गरेको इचनबलष्अ कतबतभ मभअबिचबतष्यल बाट पाठ सिक्दै नेपाललाई पनि सोहीतर्फ अघि बढाउने ।

इमेल: abhimanyuchaudhary277@gmail.com

जनाअवजको टिप्पणीहरू