थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत २९ पुष २६४८, सोम्मार ]
[ वि.सं २९ पुष २०८१, सोमबार ]
[ 13 Jan 2025, Monday ]
‘ कविता ’

मेरो गाउँघरमा बोलाउँदैछन्

पहुरा | २४ आश्विन २०७७, शनिबार
मेरो गाउँघरमा बोलाउँदैछन्

डौना बेबरीको बास्ना संगै

खेतबारीमा धानको बाला झुल्दै छ

त्यै धानको बालामा अमृतरस घुल्दै छ

घर आँगनमा गेंदा टिउरा फुल्दै छ

कता कता मेरो मन पनि डुल्दै छ

कतै दशैं आयो कि घरमा

कतै रौनक छायो कि शहरमा

कतै दशैंको गीत गायो कि रहरमा

अब म पनि आउँदैछु कुनै प्रहरमा

खेतमा दाजुभाईसंग

बल्छीले माछा मारेको

बाला र पात समाउँदै

खेतको आलीमा हिँडेको

सबैतिर हरियाली नै हरियाली

चारैतिर रौनक नै रौनक

साँझ पख सखिया, झुम्रामा

दिदीबहिनीसंग नाचेको

कम्मरमा मादल बाँधेको

सखिया, झुम्राको गीत गुनगुनाउँदै

मादलको खोत र तालमा रमाउँदै

ए हे रे अँगनवामे हसली ओ खेलली

ढुर उरैली हो भन्दै पुठ्ठा मर्काउँदै

एक आपसमा झाल, मजिरा

छुन छुन बजाउँदै

डिस्को खोटमा ताली पड्काउँदै

सबैको घर आँगनमा

नाची नाची करैको दारु छक्याउँदै

ती सबै रमाइला पलहरु

एक एक गरी याद आउँदैछन्

ती यादहरु

अचेल मलाई

मेरो गाउँघरमा बोलाउँदैछन् ।

***

म त्यहाँ नभएर

साथीसंगीहरु टोलाउँदैछन्

समाजी समाजी मिली धान काटेको

मौह्वारी जाँरको झोल खाइ माटेको

सिढराको पकलीसंग ढीकरी खाएको

भुरुको भेरवा बनाइ छट्काएको

बेलको हाँगा काटी त्यसमै ढीकरी गुठेको

भाले कुखुरा र कहि कतै प्रसाद पुज्दै

सु गुसु मन्टर भनी देवतालाई छाँकी चढाएको

पुर्खौदेखि आएका रितीरिवाज, संस्कृति जोगाएको

पुर्खाहरुको चालचलन आज्ञाकारी बन्दै बचाएको

ती यादहरु

खै किन

अचेल मलाई

मेरो गाउँघरमा बोलाउँदैछन् ।

***

लेहङ्गा धोती फरिया लगाई

गाउँका किसानहरु

एकाएक भेला भइ पिट्टर अस्राउँदै

मनोरञ्जन गरेको

गाउँका ठूलाबडा

भल्मन्सा, चौकीदार

गुरुवा, केसौका

घर गुरुवासंग

आमाबुवा, काकाकाकी

बडाइ बरापुसंग

टीका थाप्दै

आशिर्वाद लिएको

यी यादहरु मेरो आँखा

अगाडी झलझली नाच्दैछन्

ती बनका हावापानी

आमाबुवा, दिदीबहिनीको माया प्रेम

घरि घरि याद आउँदैछन

ती यादहरु

खै किन

अचेल मलाई

मेरो गाउँघरमा बोलाउँदैछन् ।

***

साथीसंगी संग टाढा रही

छिन छिनमा मन टोलाउँदैछन्

ए साथी

के गर्दैछस् कोरोनाको शहरमा

छिट्टै फर्कि आइजा आफ्नो गाउँघरमा

हामी तँलाई पर्खिदैछौ बेनौलीको चौरमा

भनी साथीहरु बोलाएको

भेट भइ एक आपसमा हात मिलाएको

घरि घरि ती यादहरु आउँदैछन्

खै किन

अचेल मलाई

मेरो गाउँघरमा बोलाउँदैछन् ।

जनाअवजको टिप्पणीहरू