‘ नेपाली कविता ’
त्यो पर्दैन
पहुरा |
१ जेष्ठ २०७८, शनिबार

खुकुरीभन्दा कर्द लाग्ने ?
यहाँ पोथी बास्न खोज्ने ?
त्यो पर्दैन ।
***
म हुकुम चलाउन आएको हुँ
पद र आश्वासन दिन आएको हुँ
म मेरै शासन चलाउन आएको हुँ
मलाई जिम्मेवारीको
पाठ तिमी नपढाउनू
त्यो पर्दैन ।
***
रुँदा रुँदै बरु हाँस्नु
श्रद्धाञ्जलिहरुको भिडबाटै
सके मलाई बधाई दिनु
मैले गरेका रमिताहरु हेरेर
बरु मेरै गुनगान गाउनु
तर,मलाई नैतिकताको
याद तिमी नदिलाउनू
त्यो पर्दैन ।
***
अक्सिजनको सिलिन्डर
कहाँ छ मेरो सिंहदरबारमा ?
ओखतीको त्यो पुन्तरो
कहाँ छ मेरो बालुवाटारमा ?
किन भिखारीझैँ माग्छौ
यी सब कुरा ,
बरु ओहदा माग,नियुक्ति माग
उखान टुक्काकाे, त्यो सन्दुक माग
सबथोक छन् मसँग
तर मलाई मानवताको
सम्झना तिमी नगराउनू ।
त्यो पर्दैन ।
