सुदूरपश्चिममा कोरोनाले १४ जनाको मृत्यु, संक्रमणपछि आत्महत्याको घटना बढ्दै
धनगढी, १० भदौ । बुधवार मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
साउन ३२ गते मृत्यु भएका कैलालीको १ पुरुषमा मंगलबारको .पीसिआर रिपोर्ट अनुसार कोरोना पुष्टि भएको थियो । काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा वडा नम्वर ३ मा पुगेका ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भएका थिए ।
अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि धनगढी ल्याउँदै गर्दा मोहन्याल गाउँपालिकामै मृत्यु भयो । भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेकोमा मंगलवार कोरोना पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिममा ३ महिनाको अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । कैलालीका ६, अछामका ४, बाजुरा र बझाङका २÷२ जना गरी १४ जनाको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको संक्रमणबाट पहिलो मृत्यु भने जेठ १८ गते भएको थियो । बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो । आमाबुवासँग भारतको नयाँ दिल्लीबाट आएकी २ बर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो । उनको मृत्युपछि उनकी आमामा समेत संक्रमण देखिएको थियो ।
जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो मृत्यु भयो । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनमा पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो भने अन्तिम संस्कार गरेपछि मात्रै कोरोना रिपोर्ट आएको थियो ।
असार ३ मा कोरोना भाईरसको संक्रमणले कैलालीमा दोस्रो र सुदूरपश्चिममा तेस्रो मृत्यु भयो । कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो । उनलाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो ।
सोही दिन कैलालीका थप १ जनाको कोरोना भाईरसका कारण मृत्यु भयो । जिल्लाको गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो । उनमा भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । धनगढीको नवजीवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो । उनी बस व्यवसायी थिए ।
असार १३ गते कैलालीकै थप १ जनाको कोरोना भाईरसका कारण मृत्यु भयो । क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृतक फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो ।
असार १६ गते कोरोना भाईरसको संक्रमणबाट अछाममा पहिलो मृत्यु भयो । ४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो । बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो । मृतक भारतबाट आएका थिए ।
साउन १३ गते कोरोनाले बझाङमा पहिलो मृत्यु भयो । बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो । उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो भने त्यसपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युको २ दिनपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
साउन २९ गते अछामका थप १ जनाको कोरोना भाईरसका कारण मृत्यु भयो । रामारोशन गाउँपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटुरोगबाट ग्रसित थिए ।
तर सुुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले सुदूरपश्चिम घर भएर विभिन्न ठाउँमा मृत्युु भएकाहरुको रेकर्ड नभएको बताए ।
संक्रमणपछि आत्महत्या र आत्महत्यापछि संक्रमण
मृत्यु हुने १४ मध्ये ३ जनाले भने आत्महत्या गरेका थिए । २ जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो थियो । १ जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन् ।
बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक युवकले असार तेस्रो साता आत्महत्या गरेका हुन् । खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन ।
जेठ १९ गते भारतबाट आएका उनी क्यारेन्टाइनमा बस्दै आएका थिए । त्यहाँ रहेका २५ जना मध्ये कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पीसीआर गर्दा उनको मात्र पोजेटिभ देखिएको थियो । कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन् ।
त्यस्तै, क्वारेन्टाइनमै आत्महत्या गरेका थप १ व्यक्तिमा कोरोना पुष्टि भएको थियो । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो ।
मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो । बडिमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार क्वारेन्टिनमा आत्महत्या गरेका थिए । उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए ।
क्वारेन्टाइनमा बसेका बेला आत्महत्या गरेका थप एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको थियो । अछाम घर भएका ४३ बर्षीय पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्त कहाँ पुगेका थिए ।
आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टिनमा राखेको थियो । त्यसपछि उनले क्वारेन्टिनमै आत्महत्या गरेका थिए भने मृत्युपछि कोरोना पुष्टि भएको थियो ।
तर तिनीहरुको मृत्यु कोरोनाबाटै भएको भन्न नमिल्ने बताइएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने,‘उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । तर मृत्यु चाँही संक्रमणकै कारण भएको होइन, आत्महत्याले हो ।’