१० दिनमा ६ जनाको मृत्यु
धनगढी, ११ भदौ । कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकामा अचानक उच्च ज्वरो आउने र बेहोस हुने समस्या भयवाह बन्दै गएको छ ।
सो समस्याबाट पछिल्लो १० दिनयता १० जना उच्च ज्वरोका विरामी मध्ये ६ जनाको मृत्यु समेत भैसकेको छ । यो समस्या क्रमिक रुपमा बढ्दै गएको महाकाली नगरपालिकाले जनाएको छ ।
महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीका अनुसार नगरपालिकाका प्रायः सबै वडामा उच्च ज्वरोको समस्या देखिएको छ ।
नगरपालिकाकाको वडा नंं. ६ का वडा अध्यक्ष समेत रहेका प्रवक्ता सिजालीले भने, ‘यो समस्या भाद्र महिनाभित्रै देखिएको समस्या हो । अचानक ज्वरो आउने । कसै–कसैलाई १०२ देखि १०५ डिग्री सेल्सियस भन्दा बढी ज्वरो आउने । क्षणभरमै बेहोस हुने र अन्ततः मृत्यु नै हुने समस्या देखियो । हामी धेरै चिन्तित छौ । यो कोरोनाको कहरसंगै खै कस्तो महामारी आइलाग्यो ?’
दोधारा चाँदनीस्थित दोधारा स्वास्थ्य केन्द्रलाई उदृत गर्दै प्रवक्ता सिजालीले १० दिनको अवधीमा ८ जनामा यस्तो लक्ष्मण देखिएको थियो । २ जना निको भएर घर फर्के, भने ६ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा नगरपालिकाको वडा नंं ५ का करिब ६७ वर्षीय गम्भीर सिंह भण्डारी, वडा नं. ६ का करिब १४ वर्षीया पूजा बोगटी, वडा नं. ४ का करिब २१ वर्षीय प्रेम चन्द, वडा नंं. १ का १४ वर्षीय पंकज चन्द रहेका छन् । भने २ जनाको नाम खुल्न बाँकी रहेको प्रवक्ता सिजालीले बताए ।
सबैको रगत परिक्षण भएको र कसैकसैमा जापनिज इन्सफ्लाइटिजको लक्षण समेत देखिएको प्रवक्ता सिजालीको भनाइ छ । दोधारा स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि थप उपचारको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको बताउँदै उनले अधिकांशको कोरोना परिक्षण समेत नभएको र त्यत्तिकै अन्तिम संस्कार गरिएको खबर पाएको उल्लेख गरे ।
यता सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले महाकाली नगरपालिकामा इन्सफ्लाइटिजको लक्षण देखिएको बताए । प्रभावितहरु जेई भेक्सिन नलिएको बुझिएको उनले बताए ।
सबैको रगत संकलन गरेर थप परिक्षणको लागि काठमाडौ पठाउने तयारी गरिएको र जसको परिक्षण विश्व स्वास्थ्य संगठन (डब्लुएअओ) हेर्दै आएको महाशाखा प्रमुख कार्कीको भनाइ छ । तर महाकाली नगरपालिकाका मृतकहरुको पीसिआर जाँच भएको या नभएको तथा गराउने जिम्मेवारी स्थानीय तहको रहेको बताए । उच्च ज्वरोको समस्या दार्चुला जिल्लाको गोकुलेश्वरमा पनि देखिएको मन्त्रालयले जनाएको छ ।