जिसस कैलालीको प्रमुखमा निर्वाचित टीकाकुमारी चौधरी (भुल) को हुन ?
पहुरा समाचारदाता
धनगढी, ५ मंसिर । प्रवीणता प्रमाणपत्र तह पास टीकाकुमारी चौधरी (भुल) कैलारी गाउँपालिका(२, रामपुरकी स्थायी बासिन्दा हुन्। बुबा लाहनु चौधरी र आमा सीतादेवी चौधरीको कोखबाट २०४८ सालमा जन्मिएकी टीका २०७९ मा स्थानीय तहको निर्वाचनमा कैलारी गाउँपालिका(२ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्।
यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि दलित महिला सदस्य पदमा उम्मेदवार भएकी थिइन्। त्यस बेला उनी झिनो मतले पराजित भएकी थिइन्। पुनः २०७९ को निर्वाचनमा पनि त्यही पदमा चुनाव लडेकी उनी यस पटक भने विजयी भएकी थिइन्।
२०७४ को स्थानीय तहको निर्वाचनमा चुनाव लड्दाका बखतदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेको उनले बताइन्। उनले भनिन्, ‘त्यसअघि म गाउँमा सामाजिक क्षेत्रमा काम गर्थेँ, २०७४ को निर्वाचनपछि सक्रिय राजनीतिमा लागेकी हुँ।’
कक्षा ८ मा पढ्दै गर्दा आर्थिक अवस्था कमजोर भएकाले पढाइ छाडेकी उनलाई गाउँकै शिक्षक शेषराज न्यौपानेले विद्यालयमा नाम लेखाएर पढ्न हौसला दिए। शिक्षक न्यौपानेकै हौसलाबाट उनले एसएलसी पास गर्दै प्लसटुसम्म अध्ययन गरिन।
‘शेषराज सरले मेरो नाम नलेखाई दिएको भए पढाइ अपूरै हुन्थ्यो,’ उनले भनिन्,‘सरको हौसलाले नै प्लस टु सम्मको अध्ययन गर्ने अवसर पाएँ।’ गाउँमा पढेलेखेको र दलित महिला भएकै कारण पनि आफूले राजनीतिमा अवसर पाएको उनी बताउँछिन्।
थारु समुदायकी उनले दलित समुदायका दयाशंकर भुलसँग विवाह गरिन्। अन्तरजातीय विवाह गर्दा समाज र आफन्तले हेयको दृष्टिले हेरेको स्मरण गर्दै उनले भनिन्,‘भुल समुदायका केटासँग विवाह गर्दा धेरैले कुरा काटे, पछि बिस्तारै सबैले सहयोग पनि गरे।’
सुरुसुरुमा आफ्नो हातको पानी समेत पिउन नमानेका आफन्तहरू अहिले भने सहयोग गर्न थालेको उनले बताइन्। कुनै पनि अवसरको पछाडि चुनौती रहेको बताउँदै उनले भनिन्,‘अवसरसँगै चुनौती पनि हुन्छ, म समाजलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरिसकेकी मान्छे हुँ, सामाजिक चुनौतीसँग जुधिसकेको म राजनीतिक चुनौती चिर्दै सके जति राम्रो काम गर्नेछु।’
भुलका पति दयाशंकर सोलुखुम्बुमा शिक्षण पेसामा छन्। राजनीतिमा आफूलाई आफन्तसँगै पतिले पनि सहयोग गरेको उनले बताइन्। घरपरिवारको सहयोगकै कारण राजनीतिमा सफलता पाएको उनले बताइन्।
‘घरपरिवारले नै वडा सदस्य पदमै नलड्न भनेपछि अहिले कहाँबाट म यहाँ पुग्थे र रु,’ उनले भनिन्,‘एक महिला अगाडि बढ्न घरपरिवारसँगै पतिको पनि सहयोग र साथ हुनु जरुरी छ।’