थारु राष्ट्रिय दैनिक
भाषा, संस्कृति ओ समाचारमूलक पत्रिका
[ थारु सम्बत ०२ माघ २६४८, बुध ]
[ वि.सं २ माघ २०८१, बुधबार ]
[ 15 Jan 2025, Wednesday ]

गौरीगंगा–१० लाई बालमैत्री वडा बनाउन छलफल

पहुरा | ८ पुष २०८१, सोमबार
गौरीगंगा–१० लाई बालमैत्री वडा बनाउन छलफल

पहुरा समाचारदाता
धनगढी, ८ पुस ।
कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा बालमैत्री स्थानीय शासनका प्रारम्भिक सूचक मापन तथा लगानी योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

गौरीगंगा नगरपालिका वडा नं.१० लाई बाल मैत्री वडा घोषणा गर्ने उद्देश्य सहित गौरीगंगा नगरपालिकाको टि एण्ड टि होटेलमा बालमैत्री स्थानीय शासनका प्रारम्भिक सूचक मापन तथा लगानी योजना निर्माण कार्यशालाबारे छलफल गरिएको हो ।
गौरीगंगा नगरपालिका वडा १० का वडा अध्यक्ष नरसिंह सार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गौरीगंंगा नगरपालिकाका नगरप्रमुख देवीवदत्त कडेल रहनु भएको थिए ।

बालमैत्री स्थानीय शासनका प्रारम्भिक सूचक मापन तथा लगानी योजना निर्माण कार्यशाला कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलले हामी एक्ला एक्लै हिड्यो भने काहीं पनि पुग्दैनौ’ त्यसैले सबै मिलेर विकास निर्माणका काम गरे असम्भव भन्ने कुनै पनि काम नभएको उदाहरण दिएका छन् । नगर प्रमुख कडेलका अनुसार राजनीतिक भनेकै समाज सेवा भएको पुष्टि गरेका हुन् ।

त्यस्तै कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिका वडा नं.१० का वडा अध्यक्ष नरसिंह सार्कीले बालमैत्री वडा बनाउन सबैले अहिले साथ सहयोग गरेको हुँदा आफू खुशी भएको बताएका हुन् । वडा अध्यक्ष सार्कीले पहिला टोल तथा विद्यालय बालमैत्री घोषणा भए मात्र वडा घोषणा हुने जानकारी दिएका छन् । भने २०८१ भित्रै नै १० नं. वडा लाई बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता गरेका छन् । कार्यक्रममा बोल्दै विभिन्न वक्ताले बालमैत्री घोषणा गरि सकेपछि दिगोपन दिन आवश्यकता रहेको जनाएका छन् ।
बालबालिकालाई आवश्यक पर्ने भौतिक संरचना लगायत सम्पुर्ण कुरालाई ध्यान दिई बाल मैत्री वडा घोषणा गर्नु पर्नेमा सुझाव दिएका छन् । भने शिक्षा, स्वास्थ्य, खानेपानी लगायत अन्य क्षेत्रमा पनि काम गर्नु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका विशिष्ट अतिथि गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बम रहेका थिए । त्यस्तै गौरीगंगा नगरपालिकाका उपसचिव हरिश पन्त, जनस्वास्थ्य निरिक्षक इश्वरी प्रसाद भुसाल, महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख भावना जोशी, नगर कार्यपालिकाका सदस्य लगायत इलाका प्रहरी कार्यालय मसुरियाका इन्चार्ज बमबहादुर खड्का, वडा बाल संजालका अध्यक्ष पुष्पा बोहरा लगायत अतिथि रहेका थिए ।

बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी, सरोकारवाला निकायका पदाधिकारीहरू विभिन्न राजनैतिक दलका प्रतिनीधि, वल्र्ड भिजन इन्टरनेशनलका जिल्ला संयोजक मंगल शाह, बाल कल्याण संघका कार्यक्रम अधिकृत किसन कसाराको उपस्थितीमा दुई दिने कार्यक्रम सम्पन्न भएको छ ।

दुई दिने कार्यक्रममा प्रारम्भिक सूचकको मापन तथा लगानी योजना निर्माण गरिएको थियो । दुई दिने कार्यशालामा बाल अधिकारकर्मी राम प्रसाद दाहालले सहजीकरण गरेका थिए ।

बालमैत्री स्थानीय शासनका प्रारम्भिक सूचक मापन तथा लगानी योजना निर्माण कार्यशाला कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नं.१० का राजनीतिक दलका नेता, भल्मान्सा, टोल संयोजक, शिक्षक, विभिन्न संघ सस्थाका पदाधिकारी र स्थानीय लगायतको उपस्थितिमा कार्यक्रम सफतापुर्वक कार्यक्रम सम्पन्न भएको हो ।

जनाअवजको टिप्पणीहरू